विराटनगर । प्रदेश १ सरकारले कारोना संक्रमणका कारण समस्यामा परेका नागरिकलाई राहत सामग्री दिलाउन ९ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । उत्पन्न परिस्थितिमा स्थानीय तहलाई कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचार सँगसँगै मुख्य रूपमा राहत वितरणका लागि रकम निकासा गरेको मुख्यमन्त्री शेरधन राईले बताउनुउको छ।

प्रदेशवासीको नाममा सोमबार गरेको सम्बोधनको क्रममा राईले महानगरपालिकालाई २० लाख रुपैयाँ, उपमहानगरपालिकाहरूलाई १५ लाख रुपैयाँ, नगरपालिकाहरूलाई १० लाख र गाउँपालिकालाई ५ लाख गरी एकमुष्ट ९ करोड ५० लाख रुपैयाँ बजेट पठाउने व्यवस्था मिलाएको जानकारी दिनुभएको हो। सरकारले यसभन्दा अगाडि प्रदेशका सबै सरकारी अस्पताललाई समेत ३ करोड रुपैयाँ बजेट निकासा गरेको थियो ।

कोरोना भाइरसविरुद्वको यस अभियानमा अहोरात्र खटिरहेका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सबै जिल्ला सुरक्षा समितिहरूले खेलिरहेको भूमिकाको प्रशंसा गर्दै उच्च मनोबलका साथ थप सक्रियता र प्रभावकारितामा वृद्धि ल्याउन सुरक्षा निकायहरूलाई १ करोड ६८ लाख रुपैयाँ निकासा गरिएको मुख्यमन्त्री राई जानकारी गराउनुभएको छ।

स्थानीय समुदाय, सामाजिक संघ–संस्थाहरूले खेलेको भूमिका उल्लेखनीय भएको जनाउँदै मुख्यमन्त्री राईले चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं कर्मचारीको भूमिका र सक्रियता सराहनीय भएको बताउनुभएको छ।

स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय प्रदेश सरकाले गरिसकेको छ । कार्यक्षेत्रमा खटाएको अवस्थामा कोरोना संक्रमित भई मृत्यु भए निजको परिवारलाई सेवाको कदर स्वरूप प्रदेश सरकारको तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री राईले जनाउनुभएको छ।

लकडाउन भएको आज २१ दिन भएको छ तर लकडाउनको कुनै विकल्प छैन भन्दै राईले यसको असहज परिस्थितिलाई सामना गर्नुपर्नेमा जोड दिनुभएको छ। राईले कोरोना पराजित गर्ने एउटै उपाय सावधानी र उच्च सतर्कतता भएको स्मरण गराउनुभएको छ। उहाँले कोरोनाबाट बच्न अपनाउनुपर्ने नियमित नियम र अनुशासनहरूको पालना अनि लकडाउनमा बसेर सामाजिक दूरी कायम गर्न आह्वान पनि गर्नुभयो।

तपाईको प्रतिक्रिया