विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित आरती स्ट्रिप्स प्रा लि को बैँक खाता रोक्का गर्न श्रम तथा रोजगार कार्यालय विराटनगरले नेपाल राष्ट्र बैँकलाई पत्राचार गरेको छ ।

उद्योगमा कार्यररत एक सय ५० जना कर्मचारीलाई ट्रेड युनियनमा आबद्ध भएकै कारणले उद्योग परिसरमा प्रवेश निषेध गरेपछि श्रम तथा रोजगार कार्यालय विराटनगरले सो उद्योगको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैँकलाई पत्राचार गरेको हो।

उद्योग प्रशासनले आफूहरुलाई उद्योग परिसरमा प्रवेश निषेध गरेको भन्दै श्रम तथा रोजगार कार्यालयमा आफूहरुको पुनर्वहालीका लागि निवेदन दिएका थिए ।


कामदारको उजुरीका आधारमा पुस १२ गते कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले पुस १४ गते अपराहन्न सम्ममा सबै कामदारलाई पुनर्वहाली गर्न र सोको जानकारी श्रम तथा रोजगार कार्यालयलाई गराउन आदेश दिएको थियो

तर उद्योगले सो म्यादभित्र कर्मचारीलाई पुनर्वहाल नगरेपछि श्रम कार्यालयले उद्योगको बैँक खाता रोक्का गर्न पत्राचार गरेको हो ।

कार्यालयले नेपाल राष्ट्र बैँकलाई लेखेको पत्रमा उद्योगले कार्यालयले दिएको म्यादभित्र कर्मचारीको पुनर्वहाली नगरी आदेशविपरीत कार्य गरेको हुँदा सो उद्योगको नेपालभरका सबै बैँकमा रहेका बैँक खाता रोक्का गर्न अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया