इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञाको समयावधि थपिएको छ ।

मंगलबार (आज) नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले वैशाख २९ गते बिहान १० बजेदेखि लागू हुनेगरी जेठ ४ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गरिएको हो ।

इटहरीमा दैनिक कोरोना संक्रमितको संख्या बृद्धि भएकाले निषेधाज्ञाको समय थप गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

निषेधाज्ञाको समयावधिमा अस्पताल र औषधी पसल बाहेकका सम्पूर्ण ब्यापार व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यधपि, फलफूल पसल र दूध डेरी भने बिहान १० बजेसम्म सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।

इटहरीमा हालसम्म ५८७ जना संक्रमित पुगेकाले जोखिम न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड पालना गर्न समेत उपमहानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया