इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले आगामी जेठ १५ गतेसम्म लागू हुनेगरी लकडाउन जारी गरेको छ ।

बुधबार (आज) बसेको बैठकले आगामी जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

यस अघि प्रशासनले वैशाख ३१ गतेसम्मका लागि मात्रै लकडाउन गर्ने निर्णय गरेपनि पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका कारण जेठ १५ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

सर्वसाधारण मानिस औषधी खरिद र उपचारका लागि बाहेक घरबाहिर ननिस्कन, सरकार द्धारा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य प्रयोग गर्न कुनै पनि स्थानमा भेला, जमघट, पार्टी, भोज, सभा सम्मेलन नगर्न, कोभिडको लक्षण देखिएमा तुरुन्त नजिकका स्वास्थ्य संस्थामा जानका लागि प्रशासनले अपिल गरेको छ ।

सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्था, बिमा एवं राष्ट्र बैँकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरेर माथिल्लो निकायको स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

पसल सञ्चालनको हकमा भने औषधी र स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसाय सम्बन्धी पसल,पेट्रोल पम्प, ग्याँस सिलिन्डर बाहेक अन्य सबै पसल व्यवसाय बन्द रहने प्रशासन द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना महामारी बढेपछि तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसल समेत पूर्ण रुपले बन्द गर्ने प्रशासनले जनाएको छ ।

सार्वजनिक एवं निजी सवारीको हकमा भने एम्बुलेन्स, दमकल, खानेपानी, इन्धन, स्वास्थ्य, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ बोकेका सवारी साधन सञ्चालन हुन पाउनेछन् ।

इन्टरनेट, फोहरमैला व्यवस्थापन कुरियर तथा डाकसेवा लगायतका साधन सञ्चालन गर्न पाउनेछन् भने अन्य सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग निन्त्रण ऐन २०२० अनुसार कानुन बमोजिम कारबाही समेत गरिने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया