रामधुनी । दोस्रो लहरको कोरोना भाइरसका कारण धेरै ठाउँमा अक्सिजन ग्यास अभाव भइरहेको छ । यो बेला १ नं. प्रदेशका सुनसरी र मोरङबाट भने अन्य प्रदेशहरूमा अक्सिजन पठाइँदै आएको छ ।

सुनसरी र मोरङ जिल्लामा ५ वटा अक्सिजन ग्यास उत्पादन गर्ने कम्पनी छन् । ती ५ वटा कम्पनीले हालसम्म प्रदेशका विभिन्न जिल्लासँगै प्रदेशबाहिर काठमाडौंलगायतका झण्डै दर्जन बढी जिल्लाहरूमा अक्सिजन ग्यास पठाउँदै आएका छन् ।

सुनसरीको खनारमा दुर्गा, सोनापुरमा विनायक र पाथीभरा प्लाण्टले अक्सिजन उत्पादन गर्छन् । मोरङमा हिमाल अक्सिजन ग्यास प्लाण्ट र मारूती अक्सिजन ग्यास प्लाण्टले उत्पादन गर्छन् ।

सुनसरी जिल्लाका ३ वटा अक्सिजन उत्पादक कम्पनीले काठमाडौं, रूपन्देही, जनकपुर, मकवानपुर, दाङलगायतका जिल्लामा ग्यास पठाउँदै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी महेशकुमार पोखरेलले सुनसरीबाट काठमाडौँमा २ सय ४० सिलिण्डर, रूपन्देही १ सय २० सिलिण्डर, जनकपुर २ सय सिलिण्डर, मकवनापुर १ सय ५० सिलिण्डर, दाङमा १ सय ५० सिलिण्डर पठाइसकेको बताए । उनले सप्तरीमा १ सयवटा पठाउने तयारी भएको बताए ।

सुनसरीका विनायकसँग ३५ सय, दुर्गासँग २५ सय, पाथीभरासँग ७ सय गरी ६ हजार ७ सय वटा सिलिण्डर रहेको सूचना अधिकारी पोखरेलले बताए । उनले उत्पादक कम्पनीले दिउँसो १२ घण्टामा आफूसँग रहेका सिलिण्डर रिफिल गरिसक्ने बताए । उनीहरूसँग भएका सिलिण्डरभन्दा दोब्बर सिलिण्डर भए अक्सिजन जहाँ पनि पठाउन सकिने पोखरेलको भनाइ छ ।

मोरङका अक्सिजन उत्पादक कम्पनीले पनि प्रदेशबाहिरका विभिन्न जिल्लामा पठाउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले काठमाडौंलाई २ पटक ८० सिलिण्डर, सिरहालाई ४० सिलिण्डर, रसुवालाई १२ सिलिण्डर पठाएकोे जानकारी दिए ।

उनले दाङ, डढेलधुरालगायतका जिल्लाबाट माग भइरहेको बताए । तीमध्ये केही जिल्लामा पठाउने तयारी भइरहेको उनले जानकारी दिए । मोरङको आपूर्तिलाई असर नपर्ने गरी प्रदेश तथा प्रदेशबाहिरका जिल्लामा पठाउने तयारी गरिएको उनले बताए ।

कम्पनीलाई आफ्ना नियमित ग्राहकलाई पनि प्रशासनका अनुमति लिएर मात्रै पठाउन निर्देशन गरिएको उनले जानकारी दिए । तिम्सिनाले रिफिलिङका लागि कर्मचारीको व्यवस्थापन गर्न पनि सहजीकरण गरिदिएको बताए ।

बाहिरबाट आउने र उत्पादक कम्पनीसँग भएका सिलिण्डर रोटेसनमा रिफिल गर्ने गरिएको छ । अन्य उद्योग कलकारखाना पनि बन्द नहोस् भनेर अति आवश्यक मात्रै दिइँदै आएको उनले बताए ।

तिम्सिना भन्छन्, ‘पहिले ५० सिलिण्डर राख्ने उद्योगलाई अहिले ५ सिलिण्डर मात्रै दिएका छौँ ।’ बिग्रिएका सिलिण्डर बनाउन पनि सहयोग गरेको र बनेपछि अझ सहज हुने उनको भनाइ छ ।

५ वटै अक्सिजन ग्यास उत्पादक कम्पनीहरूले सहज परिस्थिति हुँदा वा अक्सिजन ग्यास अभाव नहुँदा ५० प्रतिशतभन्दा कम मात्रै सञ्चालन हुने गरेका थिए । अहिले भने कम्पनीहरू २४ घण्टा (पूर्ण क्षमतामा) सञ्चालन भइरहेका छन् ।

उनीहरूले कम्पनीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राखिएको बताएका छन् । सुनसरीका सूचना अधिकारी पोखरेल अहिले प्रशासनको काम नै अक्सिजन व्यवस्थापन गर्ने मात्रै भएको बताउँछन् ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लामा सञ्चालित अक्सिजन ग्यास प्लाण्ट बिग्रिएकोले मर्मतका लागि पहल गरिरहेको बताए ।

१ नं. प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेशमा अभाव नहुने गरी प्रदेशबाहिर अक्सिजन पठाउने गरिएको बताए । उनले भने, ‘स्वभाविक रूपमा प्रदेशबाहिर ठूलो मात्रामा पठाइयो भने असहज हुनसक्छ, त्यसलाई मध्यनजर गरेर बाहिर पठाउँछौं ।’ उनले प्रदेशभर अभाव नहुने गरी मात्रै पठाउनका लागि सरोकारवाला पक्षसँग छलफल भइरहेको बताए ।

तपाईको प्रतिक्रिया