सुनसरी । विराटनगरको नोबेल मेडिकल कलेजमा १० घण्टा भित्र सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहानको राति १ बजेसम्मको अवधीमा सात जनाको सङ्क्रमितको मृत्यु भएको हो ।

नोबेलमा छोटो समयमै यति धेरै सङ्क्रमितको मृत्यु भएको पहिलो घटना हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजेतिर मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार उनलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको शनिबार राति ११ः३० बजे मृत्यु भएको हो । उनलाई उपचारका लागि शनिबार दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो । उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको राति १०ः५६ बजेतिर नोबेलमै मृत्यु भएको हो । उनलाई वैशाख २६ गते भर्ना गरिएको अस्पतालले जनाएको छ । विराटनगर–४ का ५२ वर्षीय पुरुषको राति १०ः२५ बजेतिर मृत्यु भएको हो । मृतक अघिल्लो दिन अस्पताल भर्ना भएका थिए ।

सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको पनि नोबेलमा मृत्यु भएको छ । बैशाख २७ गते भर्ना भएकी उनको शनिबार दिउँसो ४ः१५ बजेतिर मृत्यु भएको हो । सिरहाका ६९ वर्षीय पुरुषको शनिबार दिउँसो ४ः३० बजेतिर मृत्यु भएको हो । उनलाई वैशाख ३१ गते भर्ना गरिएको थियो । सिराहकै ६२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । वैशाख २५ गते अस्पताल भर्ना गरिएको वृद्धको शनिबार दिउँसो ३ः१५ बजेतिर भएको थियो ।

पछिल्लो २४ घण्टामा कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा तीन र विराट मेडिकल कलेजमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुष, विराटनगर–१ की ३४ वर्षीया महिला र विराटनगर–१४ का ६८ वर्षीय वृद्ध पुरुषको कोसीमा मृत्यु भएको हो । इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुष र सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमा मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेजका अस्पताल प्रवन्धक डाक्टर राजेश नेपाल अस्पतालमा सिकिस्त विरामी धेरै भएका कारण आइतबार सात जनाको मृत्यु भएको हो ।

‘नोबेलमा अन्य अस्पतालबाट सिकिस्त भएका सङ्क्रमित रेफर हुन्छन्,’ उनले भने,‘ होम आइसोलेसनबाट पनि सिकिस्त भएपछि मात्रै विरामी आउँछन् ।’

होम आइसोलेसनमा बस्ने सङ्क्रमितले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउँदै उनले भने ‘ होम आइसोलेसनमा बस्दा आफ्नो स्वास्थ्य अवस्था जाँचौं, अक्सिजन लेभल कम भए अस्पताल गइहाल्नुपर्छ ।’

तपाईको प्रतिक्रिया