सुनसरी । पूर्व–पश्चिम राजमार्गमा पर्ने कोशी ब्यारेज छल्न वैकल्पिक सडक निर्माण हुने भएको छ ।

सुनसरीको पकली हुँदै कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको माथिल्लो क्षेत्रबाट सप्तरीको कञ्चनपुर जोड्नेगरी वैकल्पिक सडक बनाउन लागिएको हो ।

सञ्चालनमा रहेको कोसी ब्यारेज आयु समाप्त भएकाले नयाँ सडक निर्माण गर्न खोजिएको सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले जनाएको छ ।

कोशी ब्यारेजको आयु समाप्त भइसकेको कुनै पनि समय कोशीको बहावले ब्यारेजमा क्षति पुग्ने सम्भावना रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न नयाँ सडक बनाउन खोजिएको जनाइएको छ ।

सन् १९६२ मा कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेड’ कम्पनीले कोशी ब्यारेज निर्माण गरेको थियो । त्यससमय पुलको आयु ५० वर्ष तोकिएको थियो । पुल निर्माण भएको ५९ वर्ष पूरा भइसकेको छ ।

अहिले सरकारले कोशी ब्यारेजको विकल्पमा नयाँ सडक निर्माणमार्फत् कोशी नदीमा पुल निर्माण गर्ने तयारी शुरु गरेको हो । निर्देशनालयले कोशी ब्यारेज छल्न ४ लेनको नयाँ सडक प्रस्ताव गरेको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वैकल्पक सडकको लम्बाई ४४.२ किलोमिटर हुनेछ ।

यो नयाँ सडक सप्तरीको कञ्चनपुर हुँदै सुनसरीको पकलीमा जोडिन्छ । यो सडकमा २८ सय ६० मिटरको कोशी पुल र २१५ मिटरको त्रियुगा पुलसहित ३४ वटा पुल पर्छन् । कोशी पुल निर्माण गर्न २१ अर्ब ७४ करोड रुपैयाँ र सडक निर्माण गर्न २० अर्ब ६३ करोड रुपैयाँ लाग्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

सडक र पुलसहित आयोजना निर्माण गर्न करिब ३३ अर्ब १० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया