काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य रेशम चौधरी पार्टीको आधिकारिकता विवादमा तटस्थ बस्नुभएको छ ।

जसपाको आधिकारिकता विवाद निरूपणका लागि आज सोमवार दिउँसो हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुग्नुभएका सांसद चौधरीले मूल पार्टी जसपा भएकाले कसैको पक्षमा पनि भोट हाल्न आफ्नो नैतिकताले नदिने भन्दै आफू तटस्थ बसेको बताउनुभएको हो ।

सांसद चौधरीले भन्नुभयो, जेलबाट आएर एउटा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन, मेरा लागि पक्ष जसपा हो र विपक्ष पनि जसपा हो, म जसपाको एउटा कार्यकर्ता हुँ, आज राजनीतिक मुद्दाका कारण म जेल बस्नुपरेको छ, मेरो मुद्दामा राजनीतिक दल, मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरूको दृष्टिकोण हो ।

आफ्नो एकमात्र एजेन्डा न्याय भएको बताउँदै सांसद चौधरीले आफू पार्टीको बफादार सिपाही भएको र आफ्ना लागि महन्थ ठाकुर भीष्म पितामह सरह भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया