, काठमाडौं । सरकारले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भित्रिन नदिन चैत १० बाट अन्तरर्राष्ट्रिय सीमा नाकाबाट आवागमन पूर्ण रुपमा बन्द गरेको छ ।

तर नेपालीहरु आउने क्रम रोकिएको छैन । सुरुमा सूचना नपाएर बाटोमा अलपत्र परेका भन्दै भारतीय सुरक्षाकर्मीहरुले नेपालीलाई दशगजा क्षेत्रमा ल्याएर छाडे । सरकारले पनि अलपत्र परेका आफ्नै नागरिक हुन् भनेर आउन दियो ।

नेपाल प्रवेश गर्न चाहनेहरुको संख्या नरोकिएपछि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले ११ चैतमा अन्तिम पटकका लागि नेपाल आउन दिने निर्णय गर्‍यो । साथै नेपाली नागरिकहरु जहाँ छन्, त्यही सुरक्षित बस्न आग्रह गर्‍यो ।

तर अझै नेपालीहरु सीमा नाकामा आउने क्रम नरोकिएपछि सरकारले भारतीय पक्षसँग छलफल थालेको छ । भारतले नेपाली नागरिकलाई नेपालतिर जाउन् भन्ने झैं व्यवहार गरेको भन्दै नेपाली पक्षले असन्तुष्टि जनाएको छ ।

किनकी नेपालमा सँगसँगै भारतमा पनि लकडाउन छ र, हिँडडुलमा समेत रोक लगाइएको छ । तर दिल्ली, मुम्बई मात्र होइन, लद्दाख क्षेत्रमा काम गरेका नेपालीसमेत अहिले दशगजा क्षेत्रमा आइपुगेका छन् । लकडाउनका बेला उनीहरु जहाँ छन्, त्यहीँ राख्नुपर्नेमा नेपालतर्फ पठाएकोमा नेपाली पक्षको असन्तुष्टि छ ।

नेपालमा पनि लाखौंको संख्यामा भारतीय मजदुर छन् । उनीहरुमध्ये धेरै नेपालमा छन् । केही भने आफूखुसी वीरगञ्ज नाकामा पुगे पनि नेपालले भारततर्फ पठाएको छैन ।

तर नेपालले भारतीय नागरिकलाई गरेको जस्तो व्यवहार भारतीय पक्षबाट नेपालीमाथि नभएको भन्दै कूटनीतिक माध्यमबाट असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया